दफा १६२
जरिबानाको सजायको कार्यान्वयन
(१) दफा १५१ बमोजिम खडा भएको लगत अनुसार जरिबाना तिर्नु पर्ने ब्यक्तिले जरिबानाको रकम तत्काल बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो ब्यक्तिले जरिबाना तत्काल बुझाउन नसकी त्यस बापत कुनै सम्पत्ति जमानत दिएमा अदालतले एक वर्षभित्र त्यस्तो रकम चुक्ता हुने गरी बढीमा तीन किस्तामा जरिबाना बुझाउने आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यसरी जरिबाना भएको ब्यक्तिले परिच्छेद–७ वा दफा १३७ बमोजिम कुनै धरौट वा जमानत राखेको भए जरिबानाको रकम त्यस्तो धरौट वा जमानतबाट असूल गरी नपुग भए जतिको सम्बन्धमा मात्र किस्तावन्दी रुपमा बुझाउने आदेश दिनु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम किस्तावन्दीमा जरिबाना रकम बुझाउने व्यवस्था भएकोमा वा मुद्दाको कारबाहीको सिलसिलामा कैद वा थुनामा परी सजाय भुक्तान गरिसकेकोमा वा परिच्छेद–७ वा दफा १३७ बमोजिम राखिएको धरौट वा जमानतबाट जरिबानाको रकम असुल हुने भएमा बाहेक कसूरदारले जरिबानाको रकम तत्काल नवुझाएमा अदालतले जरिबाना बापत कैद गर्न सम्बन्धित कारागारको नाउँमा आदेश पठाउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम आदेश भएकोमा जरिबाना नबुझाउने कसूरदारले जरिबानाको रकम केही बुझाई केही बाँकी राखेकोमा वा मुद्दाको सिलसिलामा कैद वा थुनामा परी त्यसरी कैद वा थुनामा परेको अवधि जति सजाय मिन्हा हुने अवस्था भएमा सोसमेत कट्टा गरी जरिबाना नबुझाए बापत हुने कैदको अवधि र जरिबानाको कूल रकमको अनुपातमा मात्र बाँकी जरिबाना बापत कैद गर्नु पर्नेछ ।